बिष्णु शर्मा
दैलेख माघ ३ ।
छिउडी पुसाकोटकी सुबदरा खड्काको बोटमा रहेका २ सय बोट सुन्तला लटरम्म फलेका छन् । बार्षिक २ देखि ढाई लाख सम्म सुन्तला बक्रि गर्ने खड्काले सुन्तला बेचेर अन्न किन्ने गर्छिन् । अहिले ४० रुपैया प्रति केजी सम्म सुन्तला बोटबाटै ठेकेदारले उठाएर लिने भएपछि यतीवेला उनीमात्र हैनन् गाउँभरीका कृषकहरु धमाधम सुन्तला भण्डारणमा लागेका छन् । सुन्तला उत्पादन हुने क्षेत्रका कृषकहरु बारीमै सुन्तला टिप्न व्यस्त देखिएका हुन् । दुल्लू, छिउडी, नेपा, नाउलेकटुवाल लगायत जिल्लाका सुन्तला उत्पादन हुने बिभिन्न क्षेत्रका कृषकहरु अहिले उत्पादन भएको सुन्तला भण्डारणमा लागेका हुन् ।
कतिपय कृषकहरुले चिस्यान र पराल ओछ्याएर सुन्तला भण्डारण गर्ने र फागुन सम्म बिक्रि गर्ने गर्दछन् । अहिले सदरमुकाममा ६० रुपैयाँको १ केजी सुन्तला बिक्रि हुने गरेको छ । सुन्तलाको स्वाद मिठो हुने भएकोले दैलेखमा उत्पादन भएको सुन्तला सुर्खेत, नेपालगंज हुँदै काठमाण्डौं सम्म बिक्रिका लागि जाने जिल्ला कृषि बिकास कार्यालय दैलेखका प्रमुख सुर्यनाथ योगीले जानकारी दिएका छन् ।
बार्षिक पाँच करोड बढी सुन्तला जिल्ला बाहिर बिक्रि हुने जिल्ला कृषि बिकास कार्यालय दैलेखले जानकारी दिएको छ । गतबर्ष भन्दा सुन्तलाको उत्पादन यो बर्ष बढेको कृषकहरुले जानकारी दिएका छन् । सुन्तलाका बोटहरु धेरै पुराना भएका र संरक्षण हुन नसकेका कारण कतिपय स्थानमा सुन्तला उत्पादनमा समस्या आएको कृषकहरु बताउँछन् ।









